Sunday, April 11, 2010

शानेवानी आजको अवस्थामा - ऋतुको रंग

Sunday, April 11, 2010 by ametya ·
Labels:

Royal Nepal Airlines Corporation
लेखक - ऋतुराज

के तपाईंलाई थाहा छ, नेपालको ध्वजावाहक कहलिएको नेपाल वायुसेवा निगम (साविकको शानेवानि) र थाइल्यान्डको थाई एयरवेजको जन्म एकै सालमा भएको हो र दुवै एकै दामलका हुन् भन्ने? धेरै पाठकलाई अवश्य थाहा हुनुपर्छ, यद्यपि त्यसबारे वास्ता भने नहुन सक्छ।

झ्ट्ट सुन्दा अपत्यारिलो लाग्छ,तर यी दुवै वायुसेवा कम्पनीको स्थापना एउटै सालमा भएको हो। हिसाब गरेर हेर्ने हो भने दुवैको उमेरले ५० काटिसकेको निकै भयो। स्वर्ण जयन्ती मनाइसकेका यी दुवै वायुसेवा कम्पनीहरूको रेकर्ड कस्तो रह्यो त यतिका वर्षमा?

त्यो जगजाहेर छ। एउटा खन्तीखलास भयो र अर्को चाहिँ धनधान्य। खन्तीखलास हुने आफ्नै देशको ध्वजावाहक भइखाएको वायुसेवा निगम पर्यो,जसले शाही नाम बोकेर एकताका निकै राजकीय ठाँट गरिटोपलेको थियो। धनधान्य हुनेमा पर्योख थाई एयरवेज जसको उन्नति र प्रगतिको कुरा गरिसाध्ये छैन।

थाई एयरवेज तन्दुरुस्त र हृष्टपुष्ट छ। नागरिक उड्डयनको क्षेत्रमा उसको नाम र प्रतिष्ठा छ। गनिनसक्नु जहाज थुपारेर आफ्नो पखेटा फैल्याएको फैल्याएकै छ। काठमाडौंमा नै ब्याङ्ककबाट उसको ठूलो जहाजले दिनहुँ उडान भर्छ र सधैं टन्न प्यासेन्जर बोकेर उड्छ।

त्यससित हाम्रो आफ्नो पिन्चे, पिलपिले, पिलन्धरे राष्ट्रिय वायुसेवाको कुनै तुलना नै हुन सक्तैन। उमेर चपाएर के गर्नु! यो त कुपोषणले ग्रस्त बाउन्ने जस्तो छ, जहिले हेरे पनि जत्राको तत्रै। भुईँ कहिल्यै नछाड्ने, मरन्च्याँसे।

यसको यो दुर्गति हुनुमा यसका रक्षकहरू जिम्मेवार छन् जो रक्षकका रूपमा भक्षक निस्के। पहिले राजदरबार र त्यसका चाकरहरूले मोज गरे, पछि आएर पार्टी दरबारका अनुचरहरूले। के मात्रै गर्न बाँकी राखे उनीहरूले?

जहाज खरिद गर्दा खाए। जहाज भाडामा लिँदा खाए। जहाज बिक्री गर्दा खाए। जहाज मरम्मत गर्दा खाए। जहाज उडाउँदा खाए। जहाज थन्क्याउँदा खाए। पाटपुर्जा झ्िकाउँदा खाए। फर्जी बिल बनाएर खाए। बिनासित्तैँ विदेशमा सयर गरेर खाए। एजेन्ट बनाउँदा खाए। एजेन्ट हटाउँदा खाए। आफ्ना अनुचरहरूलाई टपक्क टिपेर थपक्क अध्यक्ष र महाप्रबन्धक बनाएर खाए। जति आए सबैले निगमलाई भण्डारा बनाएर खाए।

धेरैले यसबाट मह काढे। बहती गङ्गामा हात धोए। घुम्ने मेचमाथि बसेर खुट्टा घुमाए। कसैले सोचेनन् आजको जमानामा एउटा अन्तर्राष्ट्रियस्तरको वायुसेवा चलाउनलाई रहर र चाकरीकलाले मात्र पुग्दैन भनेर।

ती सबै दुष्कर्मको नतिजा हो आजको नेपाल वायुसेवा निगम जो मरिलानु न गरिखानुको अवस्थामा छ। आज हो कि भोलि भने जस्तो छ।

तर त्यही घाटे-वैद्य बोलाउनुपर्ने हालतको वायुसेवाको स्वाङ भने हेर्नोस् न को नि कति हो वार्षिकोत्सवमा निबन्ध प्रतियोगिता गर्ने भएको छ। के भनेर लेख्ने निबन्ध? कसरी खाए र कसरी निगमलाई टाट पारे भनेर लेख्ने?

गर्ने नै हो भने निबन्ध होइन बरू त्यसको ठाउँमा निगमलाई छिटोभन्दा छिटो बन्द कसरी गर्ने त्यसबारे राय बुझन प्रतियोगिता गरे हुन्छ। जान्ने-सुन्नेहरूको सुझाव बटुले हुन्छ।

जहाज-सहाज छैन फूर्ति गर्नुपर्छ लण्डन र 'साकाको,दुबई र शाङ्घाईको। यसैकारण मानिसहरू भन्ने गर्छन् नो बोइङ, ह्वोयर गोइङ?

हुन पनि कहाँ पो जाने हो र यो वायुसेवा?

0 comments:

Post a Comment