Saturday, April 17, 2010

सुस्मा कोइराला : कोइराला परिवारमा प्रवेश र निधन

Saturday, April 17, 2010 by ametya ·
Labels:

गिरिजाप्रसाद कोइरालाको दिदी इन्दिरा आचार्यको "विराटनगरका ती दिन " स्मरणबाट

पत्नि सुस्माको निधनपछि शोकविह्वल गिरिजा छोरी सुजातासँग
००७ सालपछिको घटना हो । नोना भाउजूहरूले विराटनगरमा नारी जागृति स्कुल खोल्नुभएको थियो, जो पनि बालिका विद्यालयमा परिणत भयो । त्यस विद्यालयको शिलान्यास राजा त्रिभुवनले गर्नुभएको थियो । तर, महिला शिक्षिका कहाँ पाउनु ? त्यत्तिकैमा भाउजूले वनारसमा सम्पर्क गर्नुभयो र सुशीला नाम गरेकी एक शिक्षिका झिकाउनुभयो । पढेलेखेकी थिइन्, बनारस हिन्दू विश्वविद्यालयबाट बीए, बीटी गरेकी । उनी हामीसँगसँगै कोइराला निवासमै बसिन् ।

यत्तिकैमा ००८ सालतिर हुनुपर्छ, गिरिजाका लागि विराटनगरतिरकै एउटी केटीको प्रस्ताव लिएर म घर गएँ । आमाले भन्नुभयो, "जति सम्झाउँदा पनि मानेन । ऊ त सुशीलालाई टिपेर कोलकातातिर लाग्यो ।" म छक्क परेँ । आमाले नै बताउनुभयो, "बीपीले राजनीतिक आदि कारण देखाउँदै थियो, मैले त सोझै हुँदैन भन्दिएँ । तारणिको पनि यसमा समर्थन थिएन ।" तर, कोसु -केशवप्रसाद कोइराला  र नोना भाउजूले हुन्छ भन्दिनू भएछ । दाजुभाउजू शेखरलाई लिएरै कोलकाता जानुभएछ । त्यहीँ उहाँहरूले गिरिजाको विवाह गरेर पछि विराटनगरमा भोज दिनुभएको थियो ।

बिहे गरसिकेपछि सुशीलाको नामलाई लिएर घरमा आपतै पर्‍यो । अब हाम्रो घरमा दुई जना सुशीला भए, बीपीपत्नी र गिरिजापत्नी । कसलाई कसरी बोलाउने ! अनि, आमाले नै सबैको रायसल्लाह लिएर उनको नाम सुष्मा राखिदिनुभयो । यसरी उनी सुशीलाबाट सुष्मा भइन् । ०१० सालमा उनले सुजातालाई जन्म दिइन् । त्यतिखेर डाक्टर शान्ति बनर्जीले कोइराला निवासमै आएर उनलाई सुत्केरी गराएकी थिइन् ।

०२४ सालको घटना हो । सुष्माकी दिदी पनि विराटनगरमै बस्िथन् । उनी पनि हामीसँगै बालिका विद्यालयमा पढाउँथिन् । स्कुलमा पकवानसम्बन्धी तालिम पनि दिन्थिन् । त्यत्तिकैमा अचानक एउटा दुर्घटना भयो । त्यसबेला भर्खरभर्खर फ्रिज आकारको मट्टीतेल हिटर आएको थियो । सायद चलाउनमै कुनै गडबडी भएर होला, मट्टीतेल बाहिर निस्केर एक्कासि आगो लाग्यो । सुष्माकी दिदी त्यो आगोको लपेटामा परनि् । दिदीलाई बचाउने कोसिस गर्दा सुष्मा पनि जलिन् ।

सुष्मालाई पछाडिको ढाडमा आगोको लप्काले गहिरो चोट पुर्‍याएको थियो । म तत्काल स्कुलबाट उनलाई हेर्न त्यहाँ पुगेँ । सुष्मा आफ्नोभन्दा पनि दिदीको अवस्थाले ज्यादै चिन्तित थिइन् । दुवैलाई अस्पताल पुर्‍याइयो । अस्पताल पुर्‍याउनासाथ उनकी दिदीको मृत्यु भयो । सुष्माको उपचार जारी रह्यो । अहोरात्र खट्दा पनि डाक्टरहरूको केही सीप लागेन । त्यसपछि भारतबाट डाक्टर झिकाएर पनि उपचार गराइयो । नौ दिनको उपचारपश्चात् उनको पनि अस्पतालमै निधन भयो । यसरी, ज्यादै माया गर्ने बुहारी, साथी र परिवारको सदस्य गुमाउनुको पीडा मैले बेहोरेँ ।

त्यसपछि मैले एक वर्षजति त्यही स्कुलमा पढाएँ । तर,सुष्माको सम्झनाले मलाई ज्यादै सताउन थाल्यो । स्कुलमा जानै मन लाग्न छोड्यो । अनि, मैले जागिर नै छोड्नु बेस ठानेँ । ०२५ सालको अन्त्यतिरबाट पढाउन छोडेँ । स्कुल भन्ने शब्द सम्झिनासाथ सुष्मासँगका ती दिनहरू झलझली सम्झनामा आउँछन् ।

1 comments:

Anonymous said...
June 4, 2013 at 3:53 AM

Heу there I am ѕo ԁеlighted I found your website, Ӏ reallу
found you by mistake, whіle I was searсhing on Google fοr somеthing elѕe, Nonetheless I am here
noω and would јust likе to say
kudοs for a fantastic ρoѕt and a all rοunԁ
еnjoyable blog (I alsο love the theme/ԁesign), I ԁоn’t hаvе tіme to go
thrοugh it all аt the moment but I have saved
it anԁ also аddеd your RSS feeԁѕ, so when I have
time I will be back tο reаd a gгeat deal morе, Please dо
keeр uр the fantastic jо.

My wеb pаge: dampfgarer

Post a Comment